जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीकी संसदीय राज्यसचिव डा. बार्बेल कोफ्लर कात्तिक ११ देखि १४ (अक्टोबर २८ देखि ३१) सम्म चारदिने औपचारिक नेपाल भ्रमणमा छिन्। काठमाडौंस्थित जर्मन दूतावासका अनुसार भ्रमण विकास सहकार्य, महिला अधिकार, स्वास्थ्य र भोटेकोशी बाढीको प्रभावमा केन्द्रित छ। दूतावासका अनुसार जर्मनीले बाढी प्रतिकार्यका लागि तत्कालको मानवीय सहायता र प्रभावित क्षेत्रमा स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको पुनर्स्थापना र पुनर्निर्माणका लागि १ करोड १० लाख ६१ हजार (११.०६१ मिलियन) युरो सहयोग उपलब्ध गराएको छ।
उनको कार्यक्रममा बाढी प्रभावित नुवाकोट जिल्ला पुगेर स्थानीय अधिकारी, स्वास्थ्यकर्मी र प्रभावित बासिन्दासँग भेट्ने तथा काठमाडौंमा जर्मन सहयोग प्राप्त स्वास्थ्य संस्थाहरूको अवलोकन गर्ने समावेश छ। सरकार, नागरिक समाज र विकास साझेदारसँगका उनका भेटघाटमा गत वर्षको जेन-जी आन्दोलन र संक्रमणकालीन न्यायलगायत नेपालका विकास चुनौतीबारे पनि छलफल हुनेछ।