असोज १० र ११ गते (सेप्टेम्बर २६ र २७) भएको भारी हिमपातले जिल्लाका अन्य भागसँग जोड्ने लेकको बाटो अवरुद्ध पारेपछि हुम्लाको दुर्गम लिमी उपत्यका सम्पर्कविहीन बनेको छ। उपत्यकाका तिल, हल्जी र जाङ गरी तीनवटा बस्तीमा हिउँले पाकेका जौ, फापर, केराउ र मुलाको बाली नष्ट गरेको छ भने हिउँदका लागि काट्न लागिएको घाँस पनि पोलेको छ। वडाध्यक्ष पाल्जोर तामाङका अनुसार हिउँमा फसेका ३२५ वटा चौंरी गाईको उद्धार गरिए पनि हिउँदभरि तिनलाई खुवाउन कठिन हुनेछ। धारामा पानी जमेकाले स्थानीय दाउरा र खानेपानीको अभाव पनि झेलिरहेका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अनुदानको खाद्यान्न एक वर्षदेखि उपत्यकामा पुगेको छैन। उपत्यकाका लागि विनियोजित खाद्यान्न गाउँपालिकाको प्रशासनिक केन्द्र याल्वाङसम्म पुगे पनि न्यालु लेकको बाटोमा हिउँ जमेपछि ढुवानी रोकिएकाले १११ घरधुरीसम्म पुग्न सकेको छैन। चीनको ताक्लाकोटबाट पनि आपूर्ति हुन सकेको छैन। कम्पनीको सुर्खेतस्थित प्रादेशिक कार्यालयले विषयबारे बुझ्ने जनाएको छ।