जनकपुर बोल्ट्सले बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ गोर्खाजलाई आठ विकेटले हराउँदै नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। राहुल यादवले ३१ रन खर्चेर चार विकेट लिँदा काठमाडौँ ११५ रनमा अलआउट भयो। जवाफमा मोइन अली (अविजित ५८) र सैफ हसन (अविजित ४०) बीचको ७९ रनको अविजित साझेदारीमा जनकपुरले १७.२ ओभरमा ११६ रनको लक्ष्य पूरा गर्यो। पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो।
टोलीले युवा एम्बेसडर डा. सरीषा श्रेष्ठको नेतृत्वमा रहेको 'सिक्सेस फर हर फ्युचर' अभियानलाई पनि साथ दिइरहेको छ। तोकिएका खेलमा जनकपुरले लिने प्रत्येक विकेट र छक्काबापत २,००० रुपैयाँ मधेस प्रदेशका विपन्न छात्राहरूको शिक्षाका लागि छुट्याइन्छ। प्रायोजक अर्क्श ग्रुपको १ लाख ५० हजार रुपैयाँको प्रारम्भिक कोषबाहेक पहिलो खेलबाट २८,००० रुपैयाँ संकलन भएको यो अभियानले कम्तीमा १० जना छात्रालाई सहयोग गर्ने लक्ष्य राखेको छ।