नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरण र प्रादेशिक विश्वविद्यालयको व्यवस्थापनबारे छलफल गर्न प्रदेशका शिक्षामन्त्री, विश्वविद्यालयका पदाधिकारी र शिक्षाविद्हरू हेटौँडामा भेला भएका छन्। बागमती विश्वविद्यालयले आयोजना गरेको दुई दिने सम्मेलन कात्तिक १२ गते (अक्टोबर २९) सुरु भएको हो र कात्तिक १३ गते (अक्टोबर ३०) सम्म चल्नेछ।
सम्मेलनको उद्घाटन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थीको माग, बजारको आवश्यकता र राज्यको लगानीको औचित्य पुष्टि भएपछि मात्र नयाँ विश्वविद्यालय स्थापना गर्नुपर्ने र संख्या थप्नुभन्दा सञ्चालनमा रहेका विश्वविद्यालयलाई प्रभावकारी बनाउनु महत्त्वपूर्ण रहेको बताए। दोहोरो लगानी रोक्न सरकारले विश्वविद्यालयहरूको म्यापिङ र विद्यालयहरूको भौतिक पूर्वाधार मूल्याङ्कन गरिरहेको, संघीय र प्रादेशिक विश्वविद्यालयबीच समन्वयका लागि संयन्त्र बनाइएको तथा सम्मेलनका सुझाव मस्यौदा भइरहेको विद्यालय शिक्षा ऐनसहित आगामी कानुन र नीतिमा समेटिने उनले बताए।