काठमाडौं जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका व्यापार, व्यवसाय र बजार क्षेत्र २४ घण्टा खुला राख्न दिने तयारी थालेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मंगलबार जारी गरेको सूचनामा तयारी पूरा भएपछि मात्र निर्णय गरिने उल्लेख छ।
अहिले दरबारमार्ग र ठमेल क्षेत्र मात्र चौबिसै घण्टा खुला छन्। संघीय राजधानी भएकाले भरपर्दो सुरक्षा र सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी तथा सडक बत्तीको पर्याप्त व्यवस्था पहिले गर्नुपर्ने कार्यालयले जनाएको छ। स्थानीय तह, विभाग, यातायात व्यवसायी र निजी क्षेत्रसँग समन्वय बैठक गर्ने तयारी छ। अर्को सूचना जारी नभएसम्म अन्य ठाउँका व्यवसायीलाई सामान्य समयमै व्यापार गर्न आग्रह गरिएको छ।