बाजुराको बर्जुगाड पुल सञ्चालनमा नआउँदै जीर्ण
बाजुराको बर्जुगाड खोलामा दुई करोड रुपैयाँको लागतमा बनेको पुल सञ्चालनमा नआउँदै जीर्ण बन्दै गएको छ, दुवैतर्फ केही काम बाँकी रहेको गोरखापत्रले जनाएको छ।
गोरखापत्रले मंसिर १ गते (नोभेम्बर १७) जनाएअनुसार बाजुराको बर्जुगाड खोलामा निर्माण गरिएको दुई करोड रुपैयाँ लागतको ४५ मिटर लामो पक्की पुल सञ्चालनमा नआउँदै जीर्ण बन्न थालेको छ। यो पुलले खप्तड छेडेदह गाउँपालिका-३ र बुढीगंगा नगरपालिका-४ लाई जोड्छ। अछामको साउद एडभेन्चर जेभीले २०७२ सालमा ठेक्का लिएको यो पुल अहिलेसम्म प्रयोगविहीन छ।
निर्माण व्यवसायीले पुलमा आफ्नो कुनै काम बाँकी नरहेको जनाएको छ। अछामको साँफेबगरस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख जंगबहादुर थापाले भने पुलको मुख्य काम सकिए पनि दुवैतर्फ केही काम बाँकी रहेकाले पुल सञ्चालनमा आउन समस्या भएको बताएका छन्।
बाँनेगाउँका स्थानीय गोमती कटुवालले पुल प्रयोगमा नआउँदा भत्किने सम्भावना रहेको र झालीदेखि बाँनेगाउँ हुँदै आटिचौरसम्मको सडक पुनः निर्माण नगरेसम्म पुल सञ्चालनमा नआउने बताएका छन्। स्थानीय बासिन्दाले बर्खायाममा अहिले पनि ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने अवस्था छ।