दोहामा जारी एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत समूह 'बी' को आफ्नो अन्तिम खेलमा नेपालले आज पाकिस्तान 'ए' को सामना गर्दैछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीका लागि सेमिफाइनलको सम्भावना जीवित राख्न यो ५० ओभरको खेलमा जित हात पार्नु अनिवार्य छ। दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा मंगलबार दिउँसो हुने यो खेल दुवै टोलीका लागि समूह चरणको अन्तिम खेल हो।
सेमिफाइनलको समीकरण पेचिलो बनेको छ। नेपालको अघिल्लो चरणको यात्रा आफ्नो प्रदर्शनका साथै भारत 'ए' र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेलको नतिजामा पनि निर्भर छ। पाकिस्तान 'ए' ले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने भारत 'ए' ले जितेको खण्डमा नेपालले नेट रन रेटको कठिन गणितीय अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ। प्रतियोगिताको डिजिटल स्ट्रिमिङ अधिकार घरेलु ओटीटी प्लेटफर्म 'डिगो' सँग छ, जसका लागि दर्शकले सशुल्क सदस्यता लिनुपर्ने हुन्छ।