गोरखापत्रका अनुसार, उत्तर गोरखाको मनास्लु पदमार्गमा जमेको हिउँ पन्छाउन सोमबार, कात्तिक ३० गते (नोभेम्बर १६) सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। चुमनुब्री गाउँपालिका-५ स्थित साम्दो आसपासमा आइतबारदेखि परेको हिमपातका कारण स्थानीय बासिन्दा तथा स्वदेशी र विदेशी पर्यटकको आवतजावत प्रभावित भएको थियो।
सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक दिनेश खड्काका अनुसार, साम्दोस्थित सीमा सुरक्षा चौकीबाट खटिएको टोलीले सोमबार बिहानैदेखि हिउँ पन्छाउन थालेको हो। टोलीले लार्के भञ्ज्याङतर्फ जाने पदमार्गमा जमेको हिउँ पन्छाएको र हेलिप्याड पनि सफा गरेको उनले जानकारी दिए। गोरखास्थित सशस्त्र प्रहरी बल २९ नम्बर गुल्मबाट खटिएको सुरक्षा टोलीले यात्रुहरूलाई यात्रा गर्दा सावधानी अपनाउन र प्रतिकूल मौसमबारे सचेत रहन अनुरोध गरेको छ।